काठमाडौं । अबको केही दिन दिउँसोभन्दा राति धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो चर्को घाम लागेपनि राति पानी पर्ने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार घाम हटेपछि चिसो बढ्दै जान्छ र चिसो भएपछि बन्ने बादलले पानी पार्छ ।
मनसुन सक्रिय नै भएकाले अझै केही दिन पानी परिरहने उनको भनाइ छ ।
महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक मनसुनी न्युनचापिय रेखा रहेकाले पानी पर्ने क्रम चलिरहनेछ ।
यसकै प्रभावले अहिले पनि गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।
बिहीबर दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बांकी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । राती देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
पानी पर्ने क्रम चलिरहने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको भन्दै भिरालो जमिन आसपास र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।