काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ जारी छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ भइरहेको हो ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गरेका थिए ।
वरिष्ठ अधिवक्ता थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका २७५ सांसदमध्ये १४९ ले हस्ताक्षर सहित बुझाएको आधार नै संसदमा विश्वासको मत प्राप्त गर्ने बलियो पक्ष भएको दाबी गरेका थिए ।
१ सय ४९ जनाको लिखित हस्ताक्षरसहित दाबी गरेपछि नेकपा (एमाले)का २६ जनाले, जसपाका १२ जनाले भोट हाल्न पाउँदैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको जिकिर थियो ।
यो मुद्दालाई फास्ट ट्र्याकमार्फत टुङ्गो लगाउने भन्दै सुरु बहसका लागि १२ घण्टा र जवाफको थप तीन घण्टा गरी निवेदकले १५ घण्टाको समय पाएका छन् । निवेदकतर्फका अधिवक्ताको बहस बिहीबार सकिने सम्भावना छ । यस्तै महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल र विपक्षीका निजी वकिललाई गरी १५ घण्टा समय तोकिएको छ ।