काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबार रिट निवेदकको पक्षबाट बहस सुरु भएकाे छ ।
शुक्रबार रिट निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीले बहस गर्नेछन् । बहसका लागि एक जनालाई ३ देखि ३० मिनेटसम्मको समय निर्धारण गरिएको छ ।
आइतबार रिटका विपक्षी वा सरकार पक्षले बहस शुरु गर्नेछ।
विपक्षीले बहस सकेपछि निवेदकको पक्षले ३ घण्टाको जवाफी बहस गर्ने छ भने एमीकस क्युरीले २ घण्टामा आफ्नो राय दिनेछ । त्यसपछि मुद्दा फैसलाको चरणमा प्रवेश गर्नेछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि बहस हुँदै आएको छ ।
बिहीबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।
बहसको पहिलो दिन बुधबार ५ जनाले बहस गरेका थिए । बुधबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र महादेव यादव तथा अधिवक्ता गोविन्द बन्दी र खम्बहादुर खातीले बहस गरेका थिए । दुई दिनको बहसमा निवेदकका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका छन् ।