काठमाडौं : नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले माधव नेपाल एकताको पक्षमा नरहेको आरोप लगाएका छन् । आइतबार बिहान बसेको एमालेको स्थायी कमिटी बैठकपछि प्रवक्ता ज्ञवालीले आफूहरु एकताको पक्षमा रहेपनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउन लागि परेको आरोप लगाएका हुन् ।
उनले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको बताए । एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिष्ट आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने भन्दै उनले आफूहरु एकताको पक्षमा रहेको स्पष्ट पारे ।
उनले भने, ‘नेकपा एमालेको एकतालाई अक्षुण कायम राखेर, सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा गर्न सकिन्छ । कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिन्छ । वर्तमान संविधानको रक्षा गर्न सकिन्छ । राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्न सकिन्छ । एमाले कमजोर हुँदाखेरी यी सबै पक्षहरु अप्ठ्यारोमा पर्छन्, संकटमा पर्छन् भन्ने निष्कर्षका साथ हामी त्यसका लागि हरसम्भव प्रयत्न गरिरहेका छौँ ।’
बिहान बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनको भनाइ छ ।
‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपतिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको संक्षिप्त तर गहन छलफल गरेका छौँ । यो विषयमा थप केही निर्णयहरु गर्नु आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठक आव्हान गर्ने निर्णय बैठकले गरेको छ’, उनले भने ।
प्रवक्ता ज्ञवालीले बैठकले पार्टी सदस्यता नविकरणको कामलाई तिव्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको पनि बताए ।