काठमाडौं । बङ्गलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ ।
सरकार-सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।
जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रवन्धक गोरखनाथ केसीले जानकारी दिए ।
उनका अनुसार बङ्गलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिकटन बाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएका छन् । यसवर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उनको भनाइ छ ।
तर गत मंगलबारसम्म देशभर २७ प्रतिशत धान रोपाई सकिएको कृषि मन्त्रालयले जनाएको छ ।
सम्झौता अनुसार हालसम्म सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाई भएको प्रवन्धक केसीले बताए ।
सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कुल सात हजार मेट्रिकटन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन ९जिटुजी०मार्फत खरीद गरेर बङ्गलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागिएको हो ।