रुपन्देही। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताएका छन्। शुक्रबार हिन्दु र बौद्ध धर्मगुरुहरुले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा उनले सबै धर्म र सम्प्रदायको लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनमा उत्तिकै जिम्मेवारी रहेको बताएका हुन्।
डा. लामाले लुम्बिनीप्रति सबै धर्मका मानिसहरूको समान आस्था र विश्वास रहेको र शान्ति तथा अहिंसाको मार्ग अवलम्बन गर्न प्रेरणा दिएको बताए। उनले लुम्बिनीलाई व्यक्तिगत आस्थाभन्दा माथि उठेर राष्ट्रहितका लागि साझा स्थलको रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, विश्व ओमकार एकता महाअभियानका संयोजक डा। चिन्तामणी नाथ योगीले पनि धार्मिक एकता राष्ट्र निर्माणका लागि अपरिहार्य रहेको बताएका छन्। उनले नेपाल हिन्दु, बौद्ध, किराँत, जैन, बोनलगायत विविध धार्मिक समुदायको साझा भूमि भएको र सहअस्तित्व तथा सहकार्यमा बस्नुपर्नेमा जोड दिएका छन्।
संगत संस्कृति अभियानका प्रमुख पुष्पराज पुरुषले भगवान बुद्धको जन्मस्थल सम्पूर्ण नेपालीको साझा धरोहर भएको भन्दै धार्मिक भावना भएका प्रत्येक व्यक्तिले जीवनमा कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा भिक्षु बजिरा, धार्मिक अभियानता मोहन रूम्बा, खेन्पो फुर्वा, शंकर खराल, भिक्षु सुमंङ्लोसहित दुई दर्जनभन्दा बढी हिन्दु र बौद्ध धर्मगुरुहरूले सहभागीता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस