काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत आज हुन लागेको नेपाल र इंग्ल्यान्डबीचको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएकी छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले नेपाली टोलीको तेस्रो विश्वकप सहभागितामा खुसी व्यक्त गर्दै उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरेकी हुन् ।
‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ र त्यो विश्वले सुन्नेछ,’ प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ—नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति ।’
प्रधानमन्त्री कार्कीले सन् २०१४ र २०२४ पछि तेस्रो पटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका प्रशंसकको साथ र विगतका चमत्कारिक सफलताको आड रहेको उल्लेख गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः, अनि धेरै माया पनि ।’
जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले खेलकुदको माध्यमबाट नेपालले विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको समेत उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस