काठमाडौं । निर्वाचनविरोधी गतिविधि नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। निगरानीमा रहेका नेकपा बहुमतका सैन्य रणनीतिकार उदयबहादुर चलाउने, बौद्धिक छवि भएका लेखक तथा बुद्धिजीवी गुणराज लोहनी, तथा राजनीतिक रणनीतिकार नरेन्द्र चेलाई उच्च निगरानीमा राख्दै खोजतलासी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका एक उच्च अधिकारीका अनुसार निर्वाचन बिथोल्ने सम्भावित गतिविधिलाई ध्यानमा राख्दै उनीहरूमाथि विशेष निगरानी गरिएको हो।
यसैबीच, निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ। उनलाई मंगलबार दिउँसो काठमाडौंको टेबहाल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो पार्टीले निर्वाचन बहिष्कारको घोषणा गर्दै विरोधका कार्यक्रम बढाएपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।
प्रहरीका अनुसार उक्त दलका अन्य केही नेताहरू पनि निगरानी सूचीमा रहेका छन्।
त्यस्तै, दुर्गा प्रसाईं निकट मानिएका एसपी साहलाई पनि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि समेत निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।
यसअघि सोमबार प्रहरीले दुर्गा प्रसाईंलाई नै निर्वाचनविरोधी गतिविधिको आरोपमा पक्राउ गरेको थियो। उनलाई चार दिनसम्म हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको प्रहरीले जनाएको छ।
सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। आगामी २१ फागुनमा हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निगरानी र पक्राउ प्रक्रिया तीव्र बनाइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस