काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई विगतका ऐतिहासिक अनुभव र दृष्टान्तबाट पाठ सिकेर राष्ट्रिय हितलाई केन्द्रमा राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले नेपाल–भारत सम्बन्ध तथा अन्तर्राष्ट्रिय कूटनीतिमा बुद्धिमत्ता, राष्ट्रिय एकता र दूरदर्शी सोच आवश्यक रहेको बताएका छन्। उनले भूगोलले नेपाललाई दुई शक्तिशाली राष्ट्रबीच राखेको उल्लेख गर्दै सन्तुलित कूटनीतिले मात्रै देशलाई सम्मानित, सुरक्षित र समृद्ध बनाउन सक्ने बताएका छन्।
भण्डारीले श्रीकृष्णको शान्ति कूटनीति, चाणक्यको व्यवहारिक नीति, पृथ्वीनारायण शाह को सन्तुलन सिद्धान्त, सुवर्णशमशेर राणा को संवादको दृष्टिकोण, विश्वेश्वरप्रसाद कोइराला को राष्ट्रिय मेलमिलाप नीति तथा वीरेन्द्र वीरविक्रम शाह को शान्ति क्षेत्र प्रस्तावलाई आज पनि सान्दर्भिक रहेको बताएका छन्।
उनले राष्ट्रिय हितलाई दल वा व्यक्तिभन्दा माथि राख्नुपर्ने, आर्थिक कूटनीति, जलस्रोत तथा ऊर्जा विकास, ज्ञान–प्रविधि र मानव पूँजी निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। साथै धार्मिक, सांस्कृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
भण्डारीले राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता, रणनीतिक सोच, सन्तुलित कूटनीति र सुशासनबाट मात्रै नेपालको सार्वभौमिकता, सुरक्षा र समृद्धि सुदृढ बन्न सक्ने निष्कर्ष प्रस्तुत गरेका छन्। उनले वर्तमान विश्वमा बढ्दो प्रतिस्पर्धा र अविश्वासका बीच विगतका अनुभव तथा स्पष्ट भविष्यदृष्टिले मात्र नेपाललाई सम्मानित र समृद्ध राष्ट्र बनाउन सक्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस