नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको संस्थापन र संस्थापन इतर पक्षबीचको शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको संकेत देखिएको छ ।
बुधबार कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापन इतर पक्षका दोस्रो पुस्ताका नेताहरू खुला रूपमा नयाँ पार्टी गठनको पक्षमा उभिएपछि कांग्रेस विभाजनको बहस फेरि सतहमा आएको हो ।
कार्यक्रममा सहभागी अधिकांश दोस्रो पुस्ताका नेताहरूले अब संस्थापन पक्षसँग सहमतिका सबै सम्भावना लगभग समाप्त भइसकेको निष्कर्ष निकाल्दै नयाँ वैकल्पिक कांग्रेस निर्माण गरेर देशभर नयाँ राजनीतिक सन्देश दिनुपर्ने धारणा राखे। उनीहरूले ‘पार्टी फुटाउनुपर्छ’ भन्ने शब्द प्रत्यक्ष प्रयोग नगरे पनि अभिव्यक्तिको सार भने अब एउटै छातामुनि बस्न नसकिने रहेको थियो ।
यसअघि आन्तरिक छलफलमै सीमित रहेको असन्तुष्टि पहिलो पटक सार्वजनिक कार्यक्रममा यसरी खुलेर व्यक्त भएकोले यसलाई कांग्रेसभित्रको शक्ति समीकरणमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
दोस्रो पुस्ताको खुला विद्रोह
कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत, शंकर भण्डारी, एनपी साउद, केदार कार्की, कुन्दनराज काफ्ले लगायतका नेताहरूले अब नयाँ राजनीतिक यात्रा सुरु गर्नुपर्ने धारणा राखे।
सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भएका नेता मोहनबहादुर बस्नेत ले अब गगन थापासँग कुनै हालतमा सहकार्य सम्भव नरहेको दाबी गरे। उनले गगन थापाको नेतृत्वमा पार्टी निर्वाचनमा गएपछि कांग्रेस कमजोर बनेको आरोप लगाउँदै काठमाडौं–४ बाट चुनाव लडे जमानतसमेत जफत हुनेसम्मको टिप्पणी गरे।
बस्नेत लामो समयदेखि गगन थापाका आलोचक मानिन्छन्। उनले अब पुरानो समीकरणमा फर्किने सम्भावना नरहेको र ढिलो नगरी नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताए।
त्यस्तै नेता कुन्दनराज काफ्ले ले कांग्रेस अब नफुटी सुखै नरहेको टिप्पणी गर्दै संस्थापन पक्षसँग न बीपीको विचार रहेको छ, न लोकतान्त्रिक संस्कार रहेको आरोप लगाए। उनले भने–‘सानेपामा रहेको कांग्रेससँग अहिले विचार होइन, केवल दम्भ बाँकी छ। दम्भले पार्टी र देश चल्दैन ।’
पूर्वमुख्यमन्त्री केदार कार्की ले पनि स्वर्गीय गिरिजाप्रसाद कोइरालाले कुनै बेला गगन थापालाई बाह्य शक्तिबाट प्रभावित नेता भनेको प्रसंग स्मरण गराउँदै पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गर्दै गएको दाबी गरे।
अन्य दोस्रो पुस्ताका नेताहरूले समेत अब धेरै समय कुर्न नहुने र वैकल्पिक संगठन निर्माणतर्फ अघि बढ्नुपर्ने धारणा राखे।
कार्यकर्ताको मनोविज्ञान पनि विभाजनतर्फ
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी कार्यकर्ताहरूको मनोविज्ञानसमेत पार्टी विभाजनतर्फ झुकेको देखियो । नेताहरूले नयाँ पार्टी गठनको सम्भावना वा संस्थापन पक्षसँग अलग बाटो रोज्नुपर्ने विषय उठाउँदा हलमा पटक–पटक हुटिङ र ताली बजेको थियो। यसले शीर्ष नेताहरूभन्दा तलको पंक्तिमा पनि असन्तुष्टि निकै गहिरिएको संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि पार्टी विभाजन केवल नेताको निर्णयबाट मात्र सम्भव हुँदैन, त्यसका लागि कार्यकर्ता तहको मनोविज्ञान निर्णायक हुन्छ। बुधबारको कार्यक्रममा देखिएको दृश्यले त्यसतर्फको संकेत दिएको उनीहरूको बुझाइ छ।
पहिलो पुस्ता अझै ‘पर्ख र हेर’को रणनीतिमा
दोस्रो पुस्ता खुला रूपमा विभाजनको पक्षमा उभिए पनि पहिलो पुस्ताका नेताहरू भने अझै केही संयमित देखिए। उनीहरूले संवादको ढोका बन्द भइनसकेको भन्दै अन्तिम प्रयास गर्नुपर्ने धारणा राखे। यद्यपि उनीहरूका अभिव्यक्तिमा पनि अहिलेको अवस्थामा पुरानै संरचनाभित्र लामो समय बस्न सकिने विश्वास भने देखिएन।
पूर्वउपसभापति पूर्णबहादुर खड्का ले सम्मान र सिद्धान्त बेचेर कसैसँग सम्झौता गर्न नसकिने स्पष्ट पारे। उनले अन्तिम समयसम्म एकताको प्रयास गर्ने बताए पनि ‘ सम्मान र स्वाभिमान समाप्त पारेर, पार्टीको सिद्धान्त तिलाञ्जली दिएर समर्पण गर्नुभन्दा मर्न तयार हुन्छु’ भन्ने अभिव्यक्तिले वर्तमान नेतृत्वसँगको दूरी झन् स्पष्ट पारे।
उता शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले भने नेतृत्व तह जिम्मेवार बने अझै पनि कांग्रेस एक हुन सक्ने विश्वास व्यक्त गरे। उनीहरूको जोड संवाद र सहमतिमै थियो।
साउन २९ को राष्ट्रिय भेला किन महत्वपूर्ण ?
संस्थापन इतर पक्षले अब आन्दोलनलाई औपचारिक स्वरूप दिन साउन २९ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिसकेको छ ।
यसअघि सातै प्रदेशमा कार्यकर्ता भेला सम्पन्न भइसकेको र अबको राष्ट्रिय भेलाले भावी राजनीतिक रणनीति तय गर्ने कांग्रेस नेता मोहनबहादुर बस्नेतले बताए।
नेताहरूका अनुसार उक्त भेलाबाट नयाँ दल गठन गर्ने, कांग्रेसभित्रै समानान्तर संरचना बनाउने वा अन्तिम पटक वार्ताको ढोका खुला राख्ने भन्ने विषयमा ठोस निर्णय हुन सक्ने सम्भावना छ। त्यसैले साउन २९ को भेला संस्थापन इतर पक्षका लागि केवल कार्यकर्ता भेला मात्र नभई भावी राजनीतिक दिशाको निर्णायक मोड बन्न सक्ने संस्थापन इतरका एक नेताले जानकारी दिए ।
अब कांग्रेस कुन मोडमा ?
पछिल्ला केही महिनायता संस्थापन र संस्थापन इतर पक्षबीचको दूरी लगातार बढ्दै गएको छ। संगठन सञ्चालन, नेतृत्व चयन, महाधिवेशनको कार्यतालिका, नीति तथा निर्णय प्रक्रियालगायत विषयमा देखिएको मतभेद अब व्यक्तिगत अविश्वासको तहसम्म पुगेको नेताहरूकै अभिव्यक्तिबाट देखिन्छ।
undefined
बीपी कोइरालाको एकता, लोकतन्त्र र विचारको राजनीति स्मरण गर्न आयोजना गरिएको कार्यक्रममा नै विभाजनको स्वर सबैभन्दा बुलन्द रूपमा सुनिनु आफैंमा कांग्रेसको वर्तमान अवस्थाको प्रतीक बनेको छ।
अब संस्थापन पक्षले संवादको पहल गरेर सम्बन्ध सुधार्ने प्रयास गर्छ कि संस्थापन इतर पक्षले नयाँ राजनीतिक यात्राको घोषणा गर्छ, त्यसको प्रारम्भिक संकेत भने साउन २९ को राष्ट्रिय कार्यकर्ता भेलाबाट स्पष्ट हुने देखिएको छ।
कांग्रेसको आन्तरिक शक्ति संघर्ष अब केवल गुटगत विवादमा सीमित नरही नयाँ राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत बुधबारको घटनाक्रमले दिएको छ।
प्रतिक्रिया दिनुहोस