काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गरिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ता समितिका पदाधिकारी गरी १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको ‘बेलकेढुङ्गा–लेखनवाडा वडा कार्यालय–दुर्सी पागोटी’ सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी भएको देखाएर सरकारी रकम भुक्तानी गरिएको निष्कर्षसहित आयोगले आरोपपत्र दायर गरेको हो।
उक्त योजनाका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। निर्माण सम्पन्न भएपछि १ हजार २ सय घनमिटर ग्याभिन जाली भरिएको उल्लेख गर्दै नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरिएको थियो। सोही आधारमा गाउँपालिकाले उपभोक्ता समितिलाई करिब ३८ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
तर, अख्तियारको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा पुनः नापजाँच गर्दा प्रतिवेदनमा उल्लेख गरिएजति काम नभएको पुष्टि भएको छ। फिल्डमा ९३९ दशमलव ५० घनमिटर मात्र ग्याभिन जाली भरिएको भेटिएको भन्दै आयोगले २६० दशमलव ५० घनमिटर काम कागजमै देखाएर झुटो बिल तथा कागजात तयार गरी ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा बराबरको सरकारी रकम हिनामिना गरिएको आरोप लगाएको छ।
यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा अधिकृत खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सव–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, तत्कालीन गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने तथा वडा नम्बर ९ का अध्यक्ष टक्कबहादुर बमलाई प्रतिवादी बनाइएको छ।
यस्तै, उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, सचिव कमलबहादुर बम र कोषाध्यक्ष सुलक्षणा बमविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगले सबै प्रतिवादीबाट ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा बिगो असुल गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस