२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

लगातार वर्षापछि देशभरका राजमार्ग प्रभावित, कतै पूर्ण त कतै आंशिक अवरोध

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध बनेका छन् । नेपाल प्रहरी र सडक विभागले दिएको जानकारीअनुसार पाँचवटा प्रदेशका दर्जनौँ मुख्य तथा सहायक सडक खण्डहरूमा यातायात सेवा पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ ।

कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी मात्र सञ्चालनमा छ। इलामको मेची राजमार्ग र खोटाङको मध्य पहाडी लोकमार्गअन्तर्गत दिक्तेल–रुपाकोट खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएका छन् । इलाम खण्डमा भने वैकल्पिक मार्ग प्रयोग गरी सवारी साधन सञ्चालन गराइएको छ ।

बागमती प्रदेशमा जोखिम उच्च भएपछि बिपी राजमार्गको काभ्रे खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा ठप्प छ भने दोलखाको लामासाँघु–रामेछाप सडक पनि बाढीका कारण बन्द रहेको छ ।

गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्ला जोड्ने सडकहरू बढी प्रभावित भएका छन् । बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक र म्याग्दीको बेनी–जोमसोम सडकमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी करिडोर (जाजरकोट–डोल्पा खण्ड) बाढीका कारण पूर्ण रूपमा ठप्प छ भने सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित के.आई. सिंह राजमार्गमा पहिरो पन्छाएर हाल एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ ।

वर्षा निरन्तर जारी रहेकाले थप पहिरो र बाढीको जोखिम कायमै रहेको प्रहरी र सडक विभागले जनाएका छन् । सम्भावित दुर्घटनाबाट बच्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रामा निस्कनुअघि नजिकैको प्रहरी कार्यालय वा सडक विभागमार्फत सडकको ताजा अवस्था बुझ्न सर्वसाधारणमा अपिल गरिएको छ ।

753164306_2856551094744817_626884414950474787_n_20gpoUKpOK.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट