झापा । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा ६०.०२ प्रतिशत प्रगति हासिल गर्दै कुल ७ हजार ५४९ मुद्दामध्ये ४ हजार ५३५ वटा मुद्दा फछ्र्योट गरेको छ ।
अदालतले उक्त अवधिमा ६५ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न प्राविधिक तथा बाह्य कारणले लक्ष्यभन्दा केही कम मात्र प्रगति भएको जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार गत वर्षको जेनजी आन्दोलन, त्यसबाट अदालतको केस म्यानेजमेन्ट प्रणालीमा परेको अवरोध तथा सङ्घीय संसद्को निर्वाचनलगायतका कारणले लक्ष्यअनुसार फछ्र्योटमा कठिनाइ भएको हो ।
अदालतको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३ हजार २३२ र नयाँ दर्ता भएका ४ हजार ३१७ गरी कुल ७ हजार ५४९ मुद्दा दायित्वमा रहेका थिए । तीमध्ये अब ३ हजार १४ वटा मुद्दाको फैसला हुन बाँकी रहेको छ ।
यसैबीच, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै न्यायाधीश पारसमणि पोखरेललाई सम्मान गरिएको छ । उनको इजलासबाट मात्रै ६२७ वटा मुद्दाको फैसला भएको अदालतले जनाएको छ ।
अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईंले मुद्दाको चापका बाबजुद उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी छिटो, निष्पक्ष र पारदर्शी रूपमा न्याय सम्पादन भइरहेको बताए। सेवाप्रवाहलाई अझ सहज र प्रविधिमैत्री बनाउन अदालतले मुद्दाको प्रकृतिअनुसार मार्ग वर्गीकरण, स्वचालित पेशी प्रणाली, गोलाप्रथाबाट इजलास छनोट, अनलाइन सुनुवाइ तथा अनलाइन तारेखको व्यवस्था लागू गरेको छ ।
मुद्दाको प्रगति र फैसलाबारे विवरण अदालतको आधिकारिक वेबसाइटमार्फत पनि हेर्न सकिने बनाइएको छ। हाल जिल्ला अदालत झापामा नौ जना न्यायाधीशको दरबन्दी रहेको छ ।
प्रतिक्रिया दिनुहोस