२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

चिया उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल, निर्यात समस्या मुख्य एजेन्डा

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । विभिन्न व्यावसायिक संघसंस्था र उद्यमीहरूसँग लगातार परामर्श गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग छलफल गर्दैछन् ।

बैठकमा नेपाली चिया उद्योगले भोगिरहेका विविध समस्या, अन्तर्राष्ट्रिय बजार तथा निर्यातमा देखिएका कानुनी एवम् व्यावहारिक अवरोध र तिनको दीर्घकालीन समाधानका उपायबारे विस्तृत छलफल हुनेछ ।

यसअघि प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ र नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग बेग्लाबेग्लै छलफल गरिसकेका छन् । ती बैठकहरूमा अर्थमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीहरूको उपस्थिति भने रहेको थिएन ।

आजको छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका प्रमुख चिया उद्योगका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

नेपालमा उत्पादित अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकतर्फ निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया र त्यहाँको बजार अवस्थाले नेपाली चिया क्षेत्रमा सीधा प्रभाव पार्दै आएको छ । 

विशेषगरी भारतले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण करिब दुई महिनासम्म नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको थियो । त्यसको प्रत्यक्ष असरस्वरूप इलाम र झापाका दर्जनौँ चिया उद्योग बन्द हुनुका साथै हजारौँ श्रमिक प्रभावित बनेका थिए ।

आज हुने छलफलमा भारतसँगको व्यापारिक नीतिबाट सिर्जित चुनौती, निर्यातलाई कसरी सहज र निरन्तर बनाउने भन्ने उपाय तथा नेपाली चिया उद्योगको दीर्घकालीन प्रवर्द्धन र संरक्षणका विषयमा ठोस सहमति जुट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट