पार्टी एकताको चाबी नेतृत्वकै हातमा छ, समय धेरै छैन : प्रकाशशरण महत
सुनौलो नेपालसँगको विशेष कुराकानीमा उनले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई अदालतले वैधानिकता दिए पनि त्यसले पार्टीभित्रको राजनीतिक विभाजनको समाधान नगर्ने बताएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएको राजनीतिक विवादको समाधान संवाद र सहमतिबाट मात्रै सम्भव हुने बताएका छन् । सुनौलो नेपालसँगको विशेष कुराकानीमा उनले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई अदालतले वैधानिकता दिए पनि त्यसले पार्टीभित्रको राजनीतिक विभाजनको समाधान नगर्ने बताएका हुन् ।
उनले पार्टीभित्र एकताको आवश्यकता अहिले झन् बढेको भन्दै नेतृत्वले त्यसअनुसार गम्भीर पहल गर्नुपर्ने बताए। हामीले चाहेको एउटै कुरा हो– नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढोस् । अहिले देश विशेष परिस्थितिमा छ । जनताले पनि कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेका छन्, उनले भने ।
महतले १५औँ महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन विशेष महाधिवेशनमा सहभागी हुन नपाएका नेता–कार्यकर्ताको सम्मानजनक सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे । त्यसका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूलाई समेट्ने वा दुवै पक्षको प्रतिनिधित्व रहने अधिकारसम्पन्न स्टेयरिङ कमिटी गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनका अनुसार उक्त संयन्त्रलाई सक्रिय सदस्यता टुंग्याउने, विधान संशोधन, अनुशासनसम्बन्धी निर्णय तथा महाधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया सञ्चालन गर्ने अधिकार दिनुपर्छ। यति भयो भने मात्रै १५औँ महाधिवेशन निष्पक्ष हुने न्यूनतम सुनिश्चितता हुन्छ, उनले बताए ।
नेतृत्वले एकताको विषयमा प्रचारभन्दा व्यवहारमा जोड दिनुपर्ने भन्दै उनले सबै पक्ष एउटै टेबलमा बसेर सहमति खोज्नुपर्ने बताए । एकता चाहिएको हो भने पेपरबाजी गरेर हुँदैन । सबै बसेर कसैले केही छोड्ने, कसैले केही स्वीकार गर्ने वातावरण बनाउनुपर्छ, उनले भने ।
पार्टीको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै महतले कांग्रेस आफ्नो मौलिक राजनीतिक संस्कारबाट विचलित हुन थालेको महसुस भइरहेको बताए । यो नेपाली कांग्रेसको स्थापना र सञ्चालनको आधार फरक हो । बिपी कोइरालाजस्तो नेतृत्वले पनि सहमति, छलफल र परामर्शलाई प्राथमिकता दिनुहुन्थ्यो । अहिले त्यो संस्कार कमजोर भएको देखिन्छ, उनले भने ।
उनले पार्टी निर्माणका लागि आफूहरू प्रतिबन्धकालदेखि संघर्ष गर्दै आएको स्मरण गर्दै अहिले पनि अन्तिमसम्म पार्टी एकताकै पक्षमा रहेको बताए। हामीले पार्टी निर्माणका लागि धेरै दुःख गरेका छौं । त्यसैले अहिले पनि अर्को बाटो होइन, एकताको बाटो खोजिरहेका छौं । तर समय धेरै छैन, उनले चेतावनी दिए ।
सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै कोइरालाले आफूहरू कानुनी शासनका पक्षधर रहेको बताए। कसैले पदको दुरुपयोग गरेको प्रमाणित भए कानुनी प्रक्रिया अघि बढ्नुपर्ने भए पनि पर्याप्त आधारबिनै प्रतिशोधको भावनाले अनुसन्धान गरिए त्यसले सुशासनलाई कमजोर बनाउने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग सम्पर्क भइरहेको जानकारी दिँदै उनले देउवा स्वास्थ्य उपचारपछि छिट्टै नेपाल फर्किने बताएका छन् । उहाँ स्वास्थ्यका कारण मात्रै बाहिर बसेको र चाँडै फर्किने बताउनुभएको छ, उनले भने ।
बिपी जयन्तीको अवसरमा आफ्नो समूहले आयोजना गर्ने कार्यक्रम पार्टी विभाजनका लागि नभई बिपी कोइरालाको विचारमाथि मन्थन गर्दै पार्टी एकताको आधार खोज्ने उद्देश्यले आयोजना गरिएको पनि कोइरालाले स्पष्ट पारे । कार्यक्रम गर्नु भनेको छुट्टै बाटो समात्नु होइन। तर नेतृत्व एकताप्रति गम्भीर भएन भने समस्या अझ गहिरिन सक्छ, उनले चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस