२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ब्रिजवाटर इण्टरनेशनल कलेजको ‘फुड फेष्टिबल २०८२’ भव्य रूपमा सम्पन्न

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौँ । सिनामंगलस्थित ब्रिजवाटर इण्टरनेशनल कलेजले वार्षिक कार्यक्रमअन्तर्गत ‘फुड फेष्टिबल २०८२’ भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ । होटल म्यानेज्मेन्ट विषय अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूको सक्रिय अगुवाइमा आयोजित एक दिने महोत्सवलाई ‘बाइट एण्ड डिलाइट फेष्ट’ नाम दिइएको थियो ।

कार्यक्रमको उद्घाटन जिल्ला होटल संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले गर्नुभएको थियो भने अध्यक्षता कलेजका प्राचार्य कृष्ण पौडेलले गर्नुभएको थियो । यस वर्षको फेष्टिबलमा विद्यार्थीहरूले आफैंले तयार पारेका २६ प्रकारका परिकारसहित १३ वटा आकर्षक स्टल सञ्चालन गरेका थिए ।

स्थानीय स्वाददेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको विविधता प्रस्तुत गर्दै बारा, छोएला, स्याफाले, मोमो, चुकाउनी, चटपटे, पानी–पुरी, लाफिङ, मेक्सिकन कर्नकप, पास्ता, सुशी, पिज्जा, मिक्स्ड फ्रुट योगर्ट, रेन्बो कप, सलाद लगायतका परिकारले दर्शकको मन जितेका थिए ।

प्रत्येक स्टलमा विद्यार्थीहरूले परिकारको उत्पत्ति, बनाउने विधि र विशेषताबारे जानकारी दिँदै कार्यक्रमलाई स्वादसँगै शैक्षिक रूपसमेत प्रदान गरेका थिए । फेष्टिबलमा ‘कुकिङ शो’, सांस्कृतिक प्रस्तुति, ‘फुड टेस्टीङ’, ‘फन गेम्स’ तथा फोटोग्राफी गतिविधिहरूले सहभागीहरूको उत्साह उच्च बनाएको थियो ।

विद्यार्थी, शिक्षक र कर्मचारीबीच सहकार्य, नेतृत्व क्षमता र उद्यमशील सोच विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सामूहिक भावना झन् मजबुत बनाएको देखिन्थ्यो ।

उद्घाटन समारोहमा बोल्दै जिल्ला होटेलसँघ काठमाडौँमा अध्यक्ष सुरेश बरालले विद्यार्थीहरूको सिप र कौशलले स्वदेशमै अनन्त सम्भावना रहेको उल्लेख गर्दै पर्यटन क्षेत्र नेपालको गौरव भएको बताउनुभयो ।

उहाँले स्थानीय परिकारको मौलिकता र प्रचार–प्रसारले नेपालप्रति विदेशी आकर्षण अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । कलेज प्राचार्य कृष्ण पौडेलले मुख्य अतिथिलाई मायाको चिनो प्रदान गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य विद्यार्थीहरूलाई केवल कक्षाकोठाको ज्ञानमा सीमित नराखी, जीवनोपयोगी सीप सिकाउनु हो । यस्ता कार्यक्रमले नेतृत्व, सामूहिकता, उद्यमशीलता र सांस्कृतिक सम्मानको भावना विकास गर्छ ।”

कलेज प्रशासनले आगामी वर्षहरूमा यस्ता सिर्जनात्मक, शैक्षिक तथा सामुदायिक कार्यक्रमलाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना रहेको जनाएको छ । साथै, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी तथा स्थानीय समुदायप्रति निरन्तर सहयोग र सहभागिताका लागि धन्यवाद व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट