काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक आह्वान गरेका छन् । आज दिउँसो १ बजेका लागि बालुवाटारमा बैठक बस्ने भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सर्वोच्च अदालतको फैसला पछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउन बैठक बोलाइएको हो ।
आजको बैठकमा नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने सम्भावना रहेको छ। नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो।
हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।