२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसीसीआई निर्वाचन: एजेन्डा ओझेलमा पारेर पैसाको दबदबा, प्रतिनिधि रिझाउन विदेश घुमाईंदै

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं। प्रतिनिधि सभा निर्वाचन सम्पन्न भए लगत्तै काठमाडौंको व्यावसायिक वृत्तलाई अर्को महत्वपूर्ण निर्वाचनले तताएको छ, त्यो हो नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन ।

प्रतिनिधि सभा निर्वाचनको कारण केही समय ओझेलमा परेको एफएनसीसीआईको साधारणसभा यही चैत २८ गते हुँदैछ । जसको चहलपहल अहिले व्यवसायिक वृतमा सुरु भैसककेको छ। साधारणसभाबाटै आगामी चार वर्षका लागि एफएनसीसीआईको नयाँ कार्यसमिति चयन हुने भएकाले चुनावी जोडघटाउ तीव्र बनेको छ।

अहिले प्रतिनिधिहरुलाई प्रभावित पार्न तथा चुनावी गतिविधि र भेटघाटलाई तीव्र बनाउने उदेश्यले विभिन्न समूहद्वारा तारे होटल केन्द्रित भोज तथा पार्टी आयोजना हुन थालेका छन्। प्रतिनिधि सभाको निर्वाचनअघि नै महासंघको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेर प्रतिस्पर्धामा रहेका दुई प्यानलले तारे होटलमा भव्य पार्टी समेत आयोजना गरेका थिए।

यसै सिलसिलामा वस्तुगततर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले फागु पूर्णिमाको पूर्वसन्ध्यामा ‘होली मिलन’ कार्यक्रमको नाममा लाजिम्पाटस्थित दुषित प्रिन्सेस होटलको १२औँ तल्लामा भब्य रात्री भोज आयोजना गरेका थिए। देशका प्रतिष्ठित उद्योगी–व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम मार्फत चुनावी समीकरण मिलाउने प्रयास गरिएको स्पष्ट देखिन्थ्यो। त्यस्तै, फागु पूर्णिमाका दिन वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल हिमालयमा अर्को पार्टी आयोजना गरेका थिए।

महासंघको साधारण सभाको सम्मुखमा यस्ता भोज तथा भेटघाट कार्यक्रमको आयोजना गरिनु नयाँ भने होइनन्। साधारण सभा नजिकिँदै जाँदा काठमाडौंका विभिन्न तारे होटलहरूमा यस्ता कार्यक्रम विगतदेखि नै नियमित जस्तै हुने गरेका छन्। प्रतिनिधिहरुले यस्ता भेटघाट र जमघटले आपसी सम्बन्ध सुदृढ बनाउने तथा व्यवसायिक आत्मीयता थप मजबुत बनाउने अपेक्षा राख्दै आएका छन्।

यद्यपि, बिगतदेखि हुँदै आएका स्वदेशका भेटघाट र पार्टीहरुमा सीमित रहने परम्परागत शैलीलाई तोड्दै यस पटकको चुनावी प्रचार विदेश सयर गर्ने सम्ममा पुगेको छ।

प्रतिनिधिलाई प्रभाव पार्ने उद्देश्यले विदेश भ्रमण गराउने गरी चुनावी गतिविधि गर्न थालेपछि व्यवसायिक वृत्तमा महासंघको चुनावी एजेण्डा भन्दा पनि पैसा खर्च गर्नेका लागि मात्र मालामाल हुने चर्चा हुन थालेको छ।

स्रोतका अनुसार वस्तुगततर्फका उपाध्यक्ष पदका प्रत्याशी नरेशलाल श्रेष्ठ समूहले आफ्ना मतदातालाई श्रीलंका भ्रमणमा लैजाने योजना बनाएको छ। महासंघको चुनाव नजिकिँदै गर्दा चैतको दोस्रो साता करिब ४० देखि ५० जना वस्तुगत तर्फका अध्यक्षलाई चार/पाँच दिनको विदेश भ्रमणमा लैजाने तयारी गरिएको छ।

सुरुमा थाइल्याण्डको बैंकक लैजाने तयारी स्वरुप पासपोर्टसमेत मागिएपनि थाइल्याण्ड भ्रमण भने स्थगित भएको छ । इरानमाथि इजरायल र अमेरिकाको आक्रमणपछि क्षेत्रीय तनाव बढ्दै खाडी क्षेत्रमा हवाई उडान प्रभावित भएपछि उक्त योजना स्थगित भएको हो । त्यसपछि रुट परिवर्तन गरी श्रीलंका भ्रमणमा लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

उपाध्यक्षका प्रत्याशी श्रेष्ठले विदेश भ्रमणको योजना रहेको स्वीकार गर्दै श्रीलंकाको सीएनआई (चेम्बर अफ नेशनल इन्डस्ट्रिज) सँग व्यावसायिक अन्तरक्रिया र भेटघाट गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले यसलाई चुनावी प्रलोभनका रुपमा नबुझ्न आग्रह गरेका छन्।

दुई देशका उद्योग–व्यवसायसँग सम्बन्धित अनुभव आदानप्रदान तथा नेटवर्क विस्तारका लागि यस्ता भ्रमणहरू आयोजना गरिनु सामान्य अभ्यास भएको उनले सुनौलो नेपालसँग बताएका छन् ।

तर, महासंघकै एक कार्यकारिणी सदस्यले भने चुनावी गतिविधि विदेशसम्म पुर्‍याइनुले चुनाव झन् खर्चिलो र भड्किलो बन्दै गएको तथा एजेन्डाको बलमा होइन, पैसाको प्रभावमा चुनाव हुने विकृतिलाई थप मलजल गरेको टिप्पणी गरेका छन्।

उनले भने, 'यसै पनि एफएनसीसीआईको चुनावमा विकृति बढ्दै गएको गुनासो सुनिँदै आएको थियो। अब प्रतिनिधिलाई विदेश घुमाउनेसम्मको अवस्था आउनु दुःखद् हो। यस्तो प्रवृत्तिले संस्थाको गरिमा झन् खस्काउने खतरा बढाएको छ।'

ती सदस्यका अनुसार पहिले स्वदेशमै सीमित रहने चुनावी चलखेल अहिले विदेशसम्म पुग्नुले महासंघको प्रतिष्ठामाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।

उनले भने, 'पहिला सत्ता टिकाउन विभिन्न किसिमका विवाद र विकृति देखिन्थे, अहिले भने प्रतिनिधिलाई विदेश घुमाएर प्रभाव पार्ने प्रयास भइरहेको छ। यस्तो गतिविधिले अन्ततः महासंघको साख कमजोर बनाउने काम मात्र गर्नेछ।'

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट