काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन् । नेपालको कुल ४,३०० मेगावाट विद्युत् उत्पादनमध्ये करिब ८५ प्रतिशत हिस्सा निजी क्षेत्रबाट उत्पादन भइरहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको देशले लिएको ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न थप १६ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए तत्काल खुलाउनुपर्ने मा जोड दिएका हुन् ।
इप्पान ले राजधानीमा आयोजना गरेको ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा व्यावसायीहरुले यस्तो माग गरेका हुन् । इप्पानका महासचिव प्रकाश दुलालले नेपालको ऊर्जा क्षेत्रको विस्तारमा निजी क्षेत्रको योगदान निर्णायक रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा उत्पादन क्षमता तीव्र रूपमा बढाउन नीतिगत तथा संरचनागत सहजीकरण आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन नगरी राष्ट्रिय ऊर्जा लक्ष्य पूरा गर्न कठिन हुने बताए ।
दुलालका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजना निजी क्षेत्रकै लगानीमा निर्माण भएका छन् । ऊर्जा उत्पादनमा निजी क्षेत्रको बढ्दो सहभागिताले देशलाई ऊर्जा आत्मनिर्भरतातर्फ अघि बढाएको उनले बताए । तर, नयाँ आयोजनाहरूको पीपीए रोकिँदा लगानीकर्तामा अन्योल बढेको र लक्ष्यअनुसार उत्पादन विस्तारमा चुनौती थपिएको उनको भनाइ थियो ।
इप्पान भित्रको विवाद समाधान गरौ
स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संगठन इपपानमा केही समय देखि विवाद रहदै आएको छ । कार्यक्रममा सहभागीहरुले इप्पानभित्र सदस्यताको आकर्षण क्रमशः घट्दै गएको उल्लेख गर्दै संस्थालाई अझ समावेशी, प्रतिनिधिमूलक र सदस्यमैत्री बनाउन आवश्यक रहेको बताए। निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको साझा मञ्चका रूपमा इप्पानलाई थप सशक्त बनाउँदै लैजानुपर्ने मा सहभागीहरुले जोड दिए ।
कार्यक्रममा इप्पानभित्र देखिएको विवाद समाधान गर्दै संस्थागत एकता कायम राख्न सर्वसम्मति र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरिएको थियो । वरिष्ठ ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले विधान पारित भएपछि केही समय निर्वाचन सारेर भए पनि सबैलाई समेट्ने नेतृत्व चयन गर्न सुझाव दिएका थिए ।
संस्थापक अध्यक्ष डा. सन्दीप शाह, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, ऊर्जा उद्यमी विनोद देवकोटा, सुवास बरा, लालकृष्ण केसी तथा अन्य वक्ताहरूले समयानुकूल विधान संशोधन गरी लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। उनीहरूले संस्थाको एकता र सशक्त उपस्थितिबिनाको अवस्थामा सरकारसमक्ष ऊर्जा क्षेत्रका मुद्दा प्रभावकारी रूपमा उठाउन कठिन हुने चेतावनी समेत दिए ।
इप्पान अध्यक्ष गणेश कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट उत्पादन, पीपीए खुला गर्ने लगायतका विषय समेटिनु इप्पानको उपलब्धि भएको उल्लेख गर्दै संस्थाभित्रका विवाद संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
करिब ३५० ऊर्जा उद्यमी तथा लगानीकर्ताको सहभागिता रहेको उक्त भेलाले आगामी २४औँ वार्षिक साधारणसभामा प्रस्तुत हुने विधान संशोधन प्रस्तावबारे राय–सुझाव संकलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस