काठमाडौं । सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सम्पूर्ण दोष वरिष्ठ नेता माधवकुमार नेपालमाथि लगाएका छन् । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास पुगेका ओलीले नेपालमाथि गम्भीर आरोप लगाउँदै उनलाई एमालेमा कुनै ठाउँ नरहेको घोषणा गरेका छन् । ओलीको यो घोषणाले एमाले विवाद झनै जटिल बनाइदिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
ओलीको यो घोषणाले एमाले विवाद झनै जटिल बनाइदिएको छ । बालकोटमा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले नेपालको राजनीतिक चरित्रमाथि प्रश्न उठाए । ‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरूको घुसपैठ यस्तो भयो, पार्टीका कमजोर तत्त्व, बिकाउ मालहरू प्रतिक्रियावादीका पछिपछि लागेर आफ्नै सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर पुगे, कहिले अदालत पुगे,’ ओलीले भने, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरू ।’
ओलीले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्नै पार्टीका २६ सांसदलाई लक्ष्य गर्दै उनीहरू ‘बिकाउ माल’ भएको टिप्पणी गरेका थिए । त्यसपछि उनले यसको नेतृत्व नेपालले गरेकाले उनलाई पार्टीमा कुनै ठाउँ नरहेको भन्दै सम्भावित कदमबारे बोले ।
आफ्नो राजनीतिक एजेन्डाको जित भएकाले नेपाल भने अब ओलीसँग ‘कम्प्रमाइज’ नगर्ने मनस्थितिमा छन् । नेता नेपालले आफूलाई विपक्षी गठबन्धनबाट अलग गराएर एकताको पक्षमा लाग्ने बताएका छन् तर प्रतिनिधिसभाको आयु पूरा कार्यकाल बनाउने विषयले उनी नैतिक दबाबमा छन् ।