काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा साउन ३ गते आइतबार दिउँसो चार बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान भएको हो । बिहीबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थयो।
यसअघि सर्वोच्च अदालतले आउँसो ३ गतेभित्र संसद बैठक बोलाउन परमादेश दिएको थियो। संसद् अधिवेशन आह्वान भएसँगै संघीय संसद सचिवालयले संसद् भवन प्रवेश गर्ने सबैको कोरोना भाइरस (कोभिड-१९) संक्रमण भए नभएको परीक्षण गर्ने भएको छ ।
संसद सचिवालयका अनुसार शुक्रबार, बिहान ११ देखि ४ बजेसम्म नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्काई लाइट हलमा एन्टिजेन परीक्षण हुनेछ ।
एन्टिजेन परीक्षणका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्य, संसदका कर्मचारी, प्राविधिक, सुरक्षाकर्मी, पत्रकारलाई उपस्थित हुन अनुरोध गरेको छ ।