नवलपरासी । बुटवल–नारायणगढ सडकखण्ड शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक हिलो र चिप्लो भएपछि यातायात प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षा रोकिए पनि सडकमा जमेको हिलो र पहाडबाट बग्ने लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । घिउखोला र विश्वकर्मा मन्दिर आसपासको उकालोमा सवारी चिप्लिएर बीचमै रोकिने अवस्था छ ।
पूर्वबाट पश्चिम जाने सवारी चल्न नसकेको र पश्चिमबाट पूर्वतर्फका सवारी सीमित रूपमा मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
सडक विस्तारको काम भइरहेकाले सामान्य वर्षामा पनि दाउन्ने खण्डमा अवरोध हुने समस्या दोहोरिँदै आएको छ। अवरुद्ध सडक खुलाउन मर्मतको काम जारी रहेको आयोजनाले जनाएको छ ।
यसैबीच, चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस