२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

तनहुँको अनौठो नौ तले सिद्ध गुफाः ओझेलमा परेको पर्यटकीय गन्तव्यलाई जगाउँदै भिमाद नगरपालिका

सोमवार , चैत्र ९, २०८२

गण्डकी । सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवद्र्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ । यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय जानकार भए पनि पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार हालै मात्र हुन थालेको सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापाले बताए ।

उनका अनुुसार गुफाको प्रवेश मार्ग साँघुरो भएका कारण निहुरिएर मात्रै भित्र पस्न सकिन्छ । विभिन्न तलामा संरचित यो गुफामा प्रवेश मार्गबाट करिब ३० मिटरभित्र पसेपछि पहिलो तला आउँछ । उक्त तलामा करिब १५० बढी मान्छे अटाउने ठाउँ छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो हुँदै नवौँ तलासम्म गुफा फैलिएको छ ।

नगरपालिकाका प्रमुख सुवेदीका अनुसार यस अघि पुरानो पुस्ताका मानिस नवौ तलासम्म पुगेका थिए । “मेरै पिताजीले गुफाको नवौँ तलासम्म पुगेको अनुभव सुनाउनुहुन्थ्यो भने मेरो दाजुले सात तलासम्म पुगेको सुनाउनुभयो”, उनले भने, “चौथो तलासम्म मसहित धेरै जना पुगेका छौँ ।”

अहिले पनि तेस्रो तलासम्म सजिलै पुग्न सकिने बताउँदै उहाँले चौथो तलामा जाने मार्गमा चुन ढुङ्गा पग्लिएका कारण अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले माथि जान रोक लगाइएको बताए । चौथो तलामा आँफू पुग्दा त्यहाँ तत्कालीन राजा सुरेन्द्रको पालामा काटिएका सिक्का, पैसा चढाउने तामाको भाडाजस्ता पुरातात्विक महत्वका सामग्री देखेको उनको भनाइ छ ।

सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्यमा यस गुफा पनि एक रहेको छ । जिदी खोला किनारको जङ्गल क्षेत्रमा अवस्थित यस गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति देखिन्छन् ।

स्थानीय तेजबहादुर थापाकाअनुसार यस गुफाको धार्मिक रूपमा पनि उत्तिकै महत्व छ । प्रत्येक वर्ष साउन महिनामा शिवको विशेष पूजासँगै स्थानीयले बाली लगाउने र भित्र्याउने समयमा यहाँ पूजाआजासहित नवान्न चढाउने गर्दछन् । यहाँ चैते दसैँमा मेला लाग्ने गरेको छ । पछिल्ला समयमा यहाँको पर्यटकको आकर्षण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट