डोटी । डोटीको आदर्श गाउँपालिकामा गएराति भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–६, रौसेल्ला भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा दुई युवकले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा परी आदर्श गाउँपालिका–३, काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राति करिब साढे १२ बजेको समयमा भएको उक्त दुर्घटनामा परी दुवैको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकको घुम्तीबाट खसेको थियो । दुर्घटनाग्रस्त जिप र मृतकहरूको शव सडकबाट करिब ९०० मिटर तल सायली गाड (खोला) मा पुगेको छ ।
मृतक सुबोध रोकायाले नै जिप चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हाल घटनास्थलमा प्रहरी टोली खटिएको र खोलाबाट शवहरूलाई सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस