राजेन्द्र आचार्य
चितवन । वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण र समुदायमा आधारित संरक्षणलाई सुदृढ बनाउन लक्षित गर्दै १०० जना युवालाई स्वरोजगारमुखी तालिम प्रदान गरिएको छ। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र तराई भूपरिधि कार्यक्रम (ताल) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम चितवन र पर्सा राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका युवालाई लक्षित गरिएको हो ।
कार्यक्रमअन्तर्गत दुई वर्षे पाइलट परियोजनामार्फत युवाहरूलाई नेचर गाइड, बारिस्ता, कुक, बेकरी, ब्युटिपार्लर तथा मेकानिक्स जस्ता सीपमूलक तालिम प्रदान गरिएको छ । तालिममध्ये २५ जना युवा नेचर गाइडको रूपमा चितवन र पर्सा निकुञ्ज आसपास क्षेत्रमा कार्यरत भइसकेका छन् भने बाँकी ७५ जनाले सिटिइभिटीअन्तर्गत आवासीय तालिम लिएका छन् ।
तराई भूपरिधि कार्यक्रमका पूर्वी क्षेत्र प्रमुख प्रेम पौडेलका अनुसार बागमती नदीदेखि महाकाली नदीसम्मका क्षेत्रमा परियोजना सञ्चालन भइरहेको छ। तालिमसँगै सहभागीलाई संरक्षणसम्बन्धी शिक्षा पनि प्रदान गरिएको छ ।
कार्यक्रम कार्यान्वयनमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिहरूले समन्वय गरेका थिए। मनहरी, मृगकुञ्ज, लामिचौर, मेघौली र पाँचपाण्डव क्षेत्रका युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
विश्व वन्यजन्तु कोष नेपालका वन्यजन्तु ओसारपसार अनुगमन प्रमुख माधव खड्काले वन्यजन्तु संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनका अनुसार बागमती प्रदेशमा अवैध वन्यजन्तु व्यापार बढी देखिए पनि संरक्षित वन्यजन्तु बाघको चोरी–सिकारी भने पुष्टि भएको छैन ।
“चोरी–सिकारी घट्दै जाँदा चितवन क्षेत्र वन्यजन्तु ओसारपसारको हब बन्दै गएको देखिन्छ,” उनले भने, “यसलाई नियन्त्रण गर्न स्थानीय युवालाई स्वरोजगार र संरक्षणमा जोड्नु प्रभावकारी उपाय हो ।”
विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख घनश्याम गुरूङले विश्वव्यापी रूपमा वन्यजन्तु ओसारपसार अवैध व्यापारको चौथो ठूलो क्षेत्रमा पर्ने उल्लेख गर्दै युवाहरूको सहभागिताले यस्तो अपराध न्यूनीकरण गर्न सकिने बताए ।
कार्यक्रम सञ्चालनका लागि करिब १ करोड १२ लाख रुपैयाँ खर्च भएको छ । तालिम प्राप्तमध्ये केहीले रोजगारीसमेत पाइसकेका छन् भने बाँकीलाई पनि रोजगारीमा जोड्ने पहल जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस