काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
भदौ २३ को आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसमा उनीहरूलाई गत शनिबार पक्राउ गरिएको थियो । आइतबार काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिइसकेको छ।
शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका अध्यक्ष ओली हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा चिकित्सकको निगरानीमा उपचाररत छन् ।
ओलीकी धर्मपत्नी राधिका शाक्य र लेखककी धर्मपत्नी यशोदा लेखकले दायर गरेको रिटमा उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको छ । आजको सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्ने वा बन्दीलाई उपस्थित गराउन आदेश दिने भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस