काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३२औं गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानको टोकियोमा सुरु हुँदैछ ।
नेपालले पहिलो पटक सन् १९६४ को १८ औं संस्करणको टोकियो ओलम्पिकमा भाग लिएको थियो । संयोगबस टोकियो ओलम्पिकदेखि सुरु भएको नेपालको ओलम्पिक यात्रा अहिले फेरि टोकियो पुगेको छ ।
ओलम्पिकमा नेपालको यो १४ औंं सहभागिता हो । सन् १९६८ मा मक्सिकोमा आयोजना भएको १९औँ ओलम्पिकमा भने नेपालले भाग लिएको थिएन ।
विश्वका दुईसय चार देशका खेलाडीको सभागिता रहने ओलम्पिकमा यसपटक नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टोकियोदेखि टोकियोसम्म आइपुग्दा नेपालको ओलम्पिक यात्रा केवल सहभागितामा मात्र सिमित बनिरहेको छ । ओलम्पिक सहभागिताले ५६ बर्ष पूरा गर्दा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन ।
नेपालबाट अहिलेसम्म तेक्वान्दोकी संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन् । संगिनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को वेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।
संगिना र दीपकलाई छाड्ने हो भने नेपालको अहिलेसम्मको ओलम्पिक सहभागिता केवल वाइल्ड कार्ड र युनिभर्सालिटी प्लेसेसका आधारमा तय हुँदै आएको छ । जसमा खेलाडीको मेहनतभन्दा भाग्यमा भर पर्दछ ।
नेताको लावालस्कर : वामदेव पत्नी जुडो म्यानेजर
जब ओलम्पिक, एसियाड र विश्व च्याम्पियनसिप जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आउँछ । नेपाली खेलाडीले पदक जित्ने र देशको शान उच्च बनाउने विषय गौण बन्छ । ओलम्पिकको बहानामा राजनीतिक दलका नेता र खेलकुद पदाधिकारीका लागि विदेश सयर गर्ने गतिलो अवसर बनिरहेको छ ।
खेलकुदको बहानामा राष्ट्रको ढुकुटी रित्याएर नेता र खेल पदाधिकारीको विदेश सयर गर्ने होडबाजीले नेपाली खेलकुद आक्रान्त छ । हरेक ओलम्पिक खेलाडीलाई भन्दा नेता र कार्यकर्तालाई घुम्ने थलोको रुपमा विकास भइरहेको छ ।
यस पटकको टोकियो ओलम्पिक पनि नेता र खेलपदाधिकारीका लागि भ्रमणको गतिलो मेसो बनेको छ । अझ एउटा खेलको अध्यक्ष अर्को खेलको व्यवस्थापक बनेर जापान सयर गरेको विषयले नेपाली खेलकुद तताएको छ ।
एमाले नेता वामदेव गौतमकी श्रीमती तुलासा थापा टोकियो ओलम्पिकमा जुडो संघको म्यानेजर बनेर जापान गएकी छन् । तुलसा नेपाल ओलम्पिक कमिटी (एनओसी) की सचिव र नेपाल कबड्डी संघको अध्यक्ष हुन् । तुलसा जुडो खेलको अफिसियल बनेर जापान गएको विषयले नेपाली खेलकुदलाई लज्जित बनाएको हो । यस्तै अन्य खेल पदाधिकारीको जापान भ्रमणले पनि नेपाली खेलकुदलाई गिज्याएको छ ।
फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ जुडो खेलको म्यानेजर, तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा सुटिङ खेलको म्यानेजर, बक्सिङ संघका अध्यक्ष राम अवाले, पौडी खेलको म्यानेजर र एनओसी उपमहासचिव पिताम्बर तिम्सिना एथलेटिक्स खेलको म्यानेजर बनेर जापान गएका छन् । खेलाडीको सहयोगीका रुपमा सामान्य कर्मचारी जानु पर्ने ठाउँमा राखेपका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभाष श्रेष्ठलाई सामान्य सहयोगी कर्मचारीको हैसियतमा जापान लगेको छ ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने टिपोटकार रुपमा ओलम्पिक टोलीमा सम्मिलित छन् । नेपाली टोलीको सेभ द मिसन (टोली नेता) रमेश कुमार सिलवाल छन् । पाँच खेलाडीका लागि व्यवस्थापक, प्रशिक्षक र डाक्टर भए पुग्नेमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठसहित २६ सदस्यीय जम्बो टोली अहिले जापान भ्रमणमा व्यस्त छन् ।
आयोजक अन्तर्राष्ट्रिय ओलम्पिक किमिटीले सहभागी खेलाडीको व्यवस्थापनका लागि एक अफिसियल (म्यानेजर)को कोटा सम्बन्धित देशको ओलम्पिक कमिटीलाई दिने गर्छ । तर नेपालको एनओसीले आफ्ना पदाधिकारीलाई भिन्न खेलको म्यानेजर बनाएर विदेश घुमाई रहेको छ ।
कहाँ हरायो भिजन २०२०
योजना र लक्ष्यलाई आत्मासाथ गर्ने हो, भने नेपालले यस पटकको टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने योजना राखेको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ बर्षअघिनै टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ भिजन २०२० परियोजना सुरुआत गरेको थियो ।
२०६३ सालपछिको नयाँ राजनीतिक व्यवस्थासँगै खेलकुदका विज्ञले अनुसन्धानसहित टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ भिजन २०२० को अवधारणा अघिसारेका थिए । राखेपका तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठको नेतृत्वले तयार पारेको भिजन २०२० टोकियो ओलम्पिकसम्म आइपुग्दा जहाँको त्यही छ ।
स्कुलदेखि ओलम्पिक अवधारणा अन्तर्गत तय गरिएको भिजन २०२० ले त्यतिबेला हरेक दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो हुने, एसियाली खेलकुद (एसिया) मा स्वर्णसहित अधिकतम पदक ल्याउने र २०२० टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्ने योजना बनाएको थियो । तर, हरेक चारवर्षमा आयोजना हुने ओलम्पिक नेपालका लागि आकाशको फल बनिरहेको छ ।
१५ वर्षअघिनै स्वर्णको लक्ष्य लिएको नेपाल अहिले पनि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईसीसी) ले प्रदान गर्ने वाइल्ड कार्डभन्दा माथि पुग्न सकेको छैन । भिजन २०२० का परिकल्पनाकार एवं एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ अहिले पनि खेलकुदको उपल्लो निकाय नेपाल ओलम्पिक कमिटिको अध्यक्ष छन् ।
अध्यक्षको रुपमा दोस्रो कार्यकालमा ब्यथित गर्दै गरेका श्रेष्ठ यसअघि दुई कार्यकाल एनओसीको महासचिव, २०५३ देखि २०५४ सम्म राखेपको सदस्य सचिव, २०६३ देखि २०६६ सम्म पुनः राखेपको सदस्य सचिव हुँदै ओलम्पिक कमिटीमा पुगेका थिए ।
संघीय संसद समेत रहेका श्रेष्ठ हालै बनेको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ निर्माणका समेत हत्र्ताकत्र्ता हुन् । यसरी लामो समय श्रेष्ठकै नेतृत्वमा घुमेको नेपाली खेलकुद अन्तर्राष्ट्रिय उपलब्धि र पदकका हिसावले विर्षन लायक छ । श्रेष्ठले तयार पारेको भिजन २०२० अहिले पनि योजनामै सीमित छ ।
पार्की र मल्लमाथि अन्याय
ओलम्पिकमा सहभागी बन्नु हरेक खेलाडी र प्रशिक्षकको सपना हुन्छ । तर, ओलम्पिकको मुखैमा नेपाली म्याराथन धावक गोपीचन्द्र पार्की र एथलेटिक्स प्रशिक्षक इन्द्राकुमारी मल्लमाथि अन्याय भएको छ । एक वर्षदेखि ओलम्पिकको तयारी गरेर बसेका पार्कीलाई टोकियो जाने समयमा सहभागिताबाट बन्चित गराइएको हो ।
ओलम्पिकका लागि बन्द प्रशिक्षणमा राखिएका पार्कीको स्थानमा अन्तिममा एथलेटिक्स खेलाडी सरस्वती चौधरीको नाम पठाइएको थियो । पार्कीले भाग लिने म्याराथनमा कोटाभन्दा बढी खेलाडीको आवेदन परेको भन्दै तीन साताअघि मात्र पार्कीको स्थानमा चौधरीलाई पठाउने निर्णय गरिएको हो । एनओसी, नेपाल एथलेटिक्स संघ र राखेपले समेत पार्कीको सहभागिताको विषयमा अन्तिममा आएर विज्ञप्ति निकाली सहभागिताबाट बन्चित भएको सुचना सार्वजनिक गरेका थिए ।
एक वर्ष तयारी गरेर बसेका पार्कीको स्थानमा अन्तिममा आएर सरस्वती चौधरीलाई पठाउने निर्णयले पार्की निराश बनेका छन् । एथलेटिक्सको अन्तर्राष्ट्रिय महासंघले भने दिएको समय नेपालबाट पार्कीको नाम दर्ता नै नगरिएको उल्लेख गरेको छ ।
यसैगरी सरस्वतीको प्रशिक्षकको रुपमा जापान जाने तयारीमा रहेकी प्रशिक्षक मल्ललाई भने नेपाल ओलम्पिक कमिटीले पीसीआर टेस्टको रिपोर्टमै छलकपट गरेको आरोप लागेको छ । जापान जाने हवाई टिकटको समेत व्यवस्था भइसकेकी मल्लको आइतबार मात्र एनओसीले कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको थियो ।
एनओसीले मल्लको स्थानामा सन्तोष श्रेष्ठलाई सरस्वतीको प्रशिक्षकका रुपमा जापान पठाउने निर्णय गरेको थियो । तर मल्लले आइतबारनै एनओसीले नै तोकेको स्टार हस्पिटलमा गएर कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । कोभिडविरुद्ध दुवै खोप पूरा गरेकी प्रशिक्षक मल्लको ओलम्पिक सहभागिता अन्तिममा आएर एउटै ल्याबको फरक फरक रिपोर्टका कारण सपना परिणत भएको छ ।
नेपालको झण्डा गौरिकाले बोक्ने
टोकियो ओलम्पिकको उद्घाटन सत्रमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छन् । १३ औं सागमा नेपाललाई ऐतिहासिक चार स्वर्ण पदक विजेता गौरिकाले ओलम्पिक मार्चपासमा नेपालको झण्डा बोक्ने नेपाली टोलीका सेभ दी मिसन रमेशकुमार सिलवालले बताए ।
मार्चपासमा गौरिकालाई अर्का पौडी खेलाडी एलेक्स साहले पनि सघाउने छन् । आईसीसी कार्यकारी बोर्डले हरेक देशको एक महिला र एक पुरुष खेलाडीलाई मार्चपासमा झन्डा बोक्न दिने प्रावधान राखेको छ । जलपरी गौरिकाको यो लगातार दोस्रो ओलम्पिक सहभागिता हो ।
यसअघिख सन् २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा पनि गौरिकाले भाग लिएकी थिइन् । त्यतिबेला १३ वर्षकी उनले विश्वकै कान्छो ओलम्पिक खेलाडीको रुपमा चर्चा बटुलेकी थिइन् ।
ओलम्पिकमा गौरिकासँगै पौडीका एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट तथा एथलेटिक्सकी सरस्वती चौधरी सहभागी छन् । गौरिकाले महिला एक सय मिटर फ्री स्टाइल र एलेक्सले पुरुष एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
कल्पनाले महिला दश मिटर एयर राइफल, सानियाले महिला ४८केजी तौल समूह र सरस्वतीले महिला एक मिटर दौडमा प्रतिस्पर्धा गर्दैछन् । कोरोनाका कारण एक वर्षपछि आयोजित ओलम्पिक अगस्ट ८ तारिखसम्म चल्नेछ । ओलम्पिकमा विभिन्न ३३ खेलमा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।