एजेन्सी । टोकियो ओलम्पिकको पुरुष फुटबल उपाधि दावेदार स्पेन समूह चरणको पहिलो खेलमै बराबरीमा रोकिएको छ । समूह ‘सी’ अन्तर्गत बिहिबार भएको खेलमा स्पेन इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको हो ।
लगातार गोलको प्रयास गरेपनि स्पेनले इजिप्टको रक्षापंक्ति तोड्न सकेको सकेन । युरो कपमा प्रभावशाली प्रदर्शन गरेका स्पेनका युवा खेलाडी पेड्री, ड्यानी ओल्मो र मार्को असेन्सियोको प्रयासलाई इजिप्टका रक्षापंक्तिले विफल तुल्याएको थियो । समूहमा स्पेनसँगै अर्जेन्टिना र अष्ट्रेलिया रहेका छन् ।
ओलम्पिक पुरुष फुटबल अन्तर्गत बिहिबारनै भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ गोलले स्तब्ध बनाएको छ । एकपक्षीय खेलमा मेक्सिकोलाई जिताउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुइरेले गोल गरे । फ्रान्सका आन्द्रे पिर्रे जिग्नाकले सान्त्वना गोल फर्काएका थिए । यस समूहका आयोजक जापान र दक्षिण अफ्रिका रहेका छन् ।
यसैगरी समूह ‘डी’ को खेलमा आईभोरी कोस्टले साउदी अरवलाई ३–१ गोलले हराएको छ । समूह ‘बी’ मा न्यजिल्यान्डले दक्षिण कोरियालाई १–० गोलले पराजित गरेको छ । ३२औं ग्रीस्मकालीन ओलम्पिकको औपचारिक उद्घाटन सुक्रबार हुने भएपनि फुटबलका खेलहरु बुधबार देखि सुरु भएका छन् । ओलम्पिक फुटबलका यू–२३ खेलाडीको सहभागिता रहँदै आएको छ ।