काठमाडौं । दक्षिण एसियाली फुटबलको ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप फुटबल अक्टोबरमा हुने भएको छ । साफ पदाधिकारीको शुक्रबार अबेर बसेको बैठकले कोरोनाका कारण एक बर्षपछि सारिएको प्रतियोगिता अक्टोबर महिनामा गर्ने सहमति गरेको हो ।
यसअघि च्याम्पियनसिपको आयोजना बंगलादेशले सेप्टेमबरमा गर्ने तय भएपनि कोरोनाको संक्रमण र प्रायोजक नपाएको भन्दै गर्न नसक्ने जानएको थियो । बंगलादेशले गर्न नसक्ने भएपछि साफ आयोजनाका लागि नेपालसँगै माल्दिभ्स र भारतले दाबेदारी प्रस्तुत गरेका छन् ।
हालै मात्र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साफ आयोजनाको तयारी गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई अनुमति दिएका थिए । साफका लागि सरकारबाट बजेटको ब्यवस्था हुने आस्वासन पाएको एन्फा सरकार परिवर्तन भएसँगै अन्योलमा परेको छ । साफ पदाधिकारीको बैठकले प्रतियोगिताको आयोजक जुलाई अन्तिमसम्म तय गर्ने जनाएको छ ।
साफमा ५ टोलीको सहभागिता रहने पक्का छ । जसमा नेपालसँगै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन । कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ ।