काठमाडौं । टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक जित्ने सौभाग्य चीनकी सुटिङ खेलाडी याङ चियनले पाएकी छन् । आसाका सुटिङ रेन्जमा शनिबार बिहान भएको महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै याङ टोकियो ओलम्पिकमा पहिलो स्वर्ण जित्ने खेलाडी बनेकी हुन् ।
२१ वर्षीय याङले २५१.८ अंक जोड्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा रुसकी अनास्टासिया गलाशीनाले रजत र स्विट्जरल्यान्डकी क्रिस्टिन निनाले कांस्य पदक जिते । नेपालकी कल्पना परियारले पनि यसै स्पर्धामा प्रतिस्पर्धा गरेकी हुन् ।
५० जना सहभागी यस स्पर्धामा कल्पना समग्रमा ४६औं स्थानमा रहिन् । यद्यपी कल्पनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडेकी छन् । उनले छनोट राउन्डमा ६ सय १६.८ स्कोरको राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघिको किर्तिमान पनि उनकै नाममा थियो ।
कल्पनाले गतबर्ष नेपालका भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाममा लेखाएकी थिईन् । सागमा उनी चौथो भएकी थिइन् । कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् ।