logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ‘ए’ डिभिजन लिग अन्योलमा 

    ‘ए’ डिभिजन लिग अन्योलमा 

    2.2K
    Shares

    काठमाडौं । कोरोनाका कारण बिथोलिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने तालिका तय भएको थियो । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले असार १४ गते मात्र ‘ए’ डिभिजन क्लबसँग छलफल गरी लिगको मिति घोषणा गरेको थियो । एन्फाले लिगको मिति घोषणा गरेपनि चारवटा क्लबले अहिलेको अवस्थामा लिगमा सहभागिता जनाउन नसक्ने भन्दै एन्फामा ज्ञापनपत्र बुझाएपछि लिग अन्योलमा परेको छ । 

    ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेट ब्वाइज क्लबले कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको अवस्थामा लिग आयोजना गरिनु स्वास्थ्य र सुरक्षाका हिसाबले चुनौतीपूर्ण भएको क्लबहरूले ठहर गरेका छन् । क्लबहरूको ज्ञापनपत्रले एन्फालाई मात्र होइन खेलाडीलाई समेत झस्काएको छ । चार क्लबको ज्ञापनपत्रसँगै लिग नहुने हो कि भनेर खेलाडीलाई चिन्तित बनाएको छ ।

    राष्ट्रिय टोलीका कप्तान किरन चेम्जोङ, आर्मीका भरत खवास, अन्जन खड्का जस्ता चर्चित खेलाडीले समेत लिग आयोजना नहुँदा खेलाडीलाई अप्ठेरो परेको गुनासो सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । चार क्लबको ज्ञापनपत्रपछि एन्फाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ‘ए’ डिभिजन लिगमा अहिले १४ क्लब आवद्ध छन् । 

    एन्फाले लिगका लागि क्लबहरूको खेलाडी दर्ता यही साउन १५ गतेबाट खुला गर्ने जनाएको छ । लिगलाई लक्षित गरी अधिकांश क्लबले खेलाडी अनुबन्ध र तयारी सुरु गरेका छन् । सातदोबाटो युथ क्लबले पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटो गत वर्ष ‘बी’ डिभिजन च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा भएको हो । 

    एन्फाले ‘ए’ डिभिजन लिग कम्तिमा ६ महिना सञ्चालन गर्ने जनाएको छ ।  एन्फाले सहभागी सबै क्लबलाई पहिलो चरणमा एक आपसमा प्रतिस्पर्धा गराउने छ । त्यसपछि शीर्ष आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गराउने तयारी गरेको छ । 

    पछिल्लो पटक २०७६ सालमा भएको लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend