काठमाडौं । सत्तारुढ पाँच दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ । शनिबार साँझ बसेको पाँच दलका शीर्ष नेताको बैठकले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्ने सहमति गरेको छ । सरकार सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेताहरुले प्रभावकारी ढंगले सरकारको काम अगाडि बढाउने सहमति गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकप (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
पाँच दलीय बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिए ।
पाँच दलीय गठबन्धनबीच सहमति हुन नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाउन शनिबार बिहानैदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिव्रता दिएका छन्। पूर्वप्रधानमन्त्री नेपालसँग कोटेश्वरमा भेट गरेका प्रचण्डले शनिबार नै एक्लै प्रधानमन्त्री देउवासँगसमेत भेट गरेका थिए।
देउवा र प्रचण्डले एमाले नेपाल समूहलाईसमेत सरकारमा सहभागी गराएर अगाडि बढ्ने तयारी गरेका छन् । नेपालले निर्णय नदिँदा मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै गएको छ । राष्ट्रिय जनता पार्टी (जसपा)ले सरकारमा जाने तयारी गरिसकेको छ । प्रचण्ड र देउवा भने जसपाको साथ छोडे पनि नेपाल समूहलाई सरकारमा लाने योजनामा छन् । यसले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको देखिन्छ ।