काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो महादेशीय फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप नेपालमै हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाललाई साफको आयोजना गर्न आइतबार आधिकारिक प्रस्ताव गरेको छ ।
शुक्रबारमात्र १३औँ संस्करणको साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने निर्णय साफका पदाधिकारी बैठकले गरेको थियो । आयोजनाका लागि नेपालसहित माल्दिभ्स र भारतले दाबेदारी प्रस्तुत गरेका थिए । एन्फाले साफ आयोजनको प्रस्ताव आएको र त्यसका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने जनाएको छ ।
गत वर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो । बंगालादेशले कोरोनाको बढ्दो संक्रमण र प्रायोजन नपाएको भन्दै साफ आयोजनाबाट हात झिकेको थियो । त्यसैले आयोजनाका लागि नेपाल, माल्दिभ्स र भारतले इच्छा देखाएका थिए ।
हालै मात्र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साफ आयोजनाको तयारी गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई अनुमति समेत दिएका थिए । साफका लागि सरकारबाट बजेटको व्यवस्था हुने आस्वासन पाएको एन्फा ओली सरकार परिवर्तन भएपछि अन्योलमा परेको छ ।
साफमा ५ टोलीको सहभागिता निश्चित भएको छ । जसमा नेपालसँगै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन । कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ ।
साफलाई लक्षितगरी नेपाली टोलीको प्रशिक्षण सुरु भइसकेको छ । यसैबीच साफ जिताउने लक्ष्यकासाथ नेपाली टोलीको मुख्य प्रशिक्षक बनाइएका अब्दुल्लाह अल्मुताइरीले आइतबारमात्र प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका छन् ।