काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले आफूमाथि गम्भीर षडयन्त्र भएको बताएका छन् ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिने बताएपछि नेम्बाङले आफूमाथि षडयन्त्र भएको बताएका हुन् । नेम्बाङले अल्मुताइरीको घोषणाले आफू आश्चार्यमा परेको पनि बताए ।
‘यो निराधार ममाथि गरिएको षड्यन्त्र हो । म सँधै सत्यको वकालत गर्ने मान्छे हुँ । यस विषयमा सत्य तथ्य छानविन गर्न म एन्फासँग माग गर्दछु । यसको छिटो भन्दा छिटो छानविन होस्,’ नेम्वाङले भने । उनले आफू दोषी देखिए एन्फाबाट राजीनामा दिने पनि बताए ।
प्रशिक्षक अब्दुल्लाहको राजीनामा घोषणापछि सामाजिक सञ्जालमा नेम्वाङविरुद्ध फुटबलका सर्मथक खनिएका छन् । यसअघि यू–१६ फुटबल टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाइएको विषयमा समर्थकबाट नेम्वााङप्रति तीव्र आलोचना भएको थियो ।