काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा मंगलबार भएको पुरुष एक सय मिटर फ्रीस्टाइलमा एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । हिट चरणमा एलेक्सले ५३.४१ सकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
यसअघि उक्त कीर्तिमान एलेक्सकै नाममा थियो । एलेक्सले नेपालगन्जमा भएको आठौं राष्ट्रिय खलकुद प्रतियोगितामा ५५.३८ सेकेन्डको कीर्तिमान बनाएका थिए । एलेक्स आफ्नो हिटमा शीर्षस्थानमा रहेका थिए ।
एलेक्स सहभागी हिटमा सात खेलाडी थिए । ७१ खेलाडीको प्रतिस्पर्धा रहेको यस स्पर्धामा १६ खेलाडीले फाइनल चरणमा स्थानम बनाउनेछन् । एलेक्सको अर्को चरणको यात्रा हिट चरणमा अन्य खेलाडीको खेलपछि तय हुनेछ ।