काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने बताएका छन्।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा सहभागी हुने बताएका हुन्।
‘माधव नेपाल सरकारमा सहभागी हुनुहुन्छ। बुधबार बस्ने गठबन्धनको बैठकमा यस विषयमा छलफल हुनेछ,’ प्रचण्डले बैठकमा यही ‘ब्रिफिङ’ गरेको एक नेताले जानकारी दिए।
गठबन्धनको बैठकमा मन्त्रीमण्डलको विषयमा पनि छलफल हुने बताईएको छ। मंगलबार बिहान अध्यक्ष प्रचण्डले नेता नेपालसँग छलफल गरेका थिए।
भेटमा प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन समेत नेता नेपाललाई आग्रह गरेका थिए। एमालेमा एकता प्रयास भएकाले सरकारमा जाने वा नजाने तत्काल टुंगो लगाउन असहज भएको नेताले बताएका छन्।