भरतपुर । बौद्ध धर्म सेवा समिति चितवनले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउने भएको छ । महाबौद्ध गुम्बा तीनखोले, भरतपुरमा भव्य कार्यक्रम आयोजना गरेर २५७०औँ बुद्धजयन्ती मनाउने तयारी गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
१८ गते परेको बुद्ध जयन्तीको लागि गुम्बा परिसरमा सरसफाइ गरेर लुङ्दा तथा ध्वजा पतकामर्फत सजिसजाउ गरिएको छ । त्रिसंयोग अर्थात् जन्मिएको दिन, सम्यक सम बुद्धत्व ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तिथिमा बुद्ध जयन्ती मनाउँदै आएको छ । भगवान गौतम बुद्धको ज्ञान, गुण र अमृतमय उपदेशलाई स्मरण गर्दै विभिन्न खालका कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष दलबहादुर गुरूङले जानकारी दिए ।
उनका अनुसार बुद्ध जयन्तीका दिन बिहान ६ देखि ७ बजेसम्म शुद्धिकरण पूजा, ७ देखि १० बजेसम्म शान्ति पदयात्रा हुनेछ । गुम्बा परिसरबाट निस्कने पदयात्राले विशालचोक, दीपेन्द्रचोक, वीरेन्द्र क्याम्पस चोक हुँदै शहीदचोकबाट मिलनरोड हुँदै लीलाचोक, रामेश्वर मन्दिर, तरकारी बजारदेखि बुद्ध टोल हुँदै पुनः गुम्बामा आइपुग्ने तालिका रहेको अध्यक्ष गुरूङले बताए ।
दिउँसो १ बजेपछि भने बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे (सञ्जीव) गुरूङबाट धर्मदेशना हुनेछ । उक्त कार्यक्रममा सहभागी भई सहयोग गरिदिन पनि समितिले आग्रह गरेको छ । बुद्धजयन्ती केवल पर्वमात्रै नभई धर्म रक्षाको लागि पनि मनाइने हुँदा बुद्ध धर्मप्रति आस्था राख्ने सबैका लागि पुण्य प्राप्ति गर्ने अवसरसमेत रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस