काठमाडौँ । काठमाडौँको बालाजुस्थित ओग्यन जम्लिङ टेरस्थित गुम्बामा डोजर चल्ने भएको छ । आज बुद्ध जयन्तीकै दिन यहाँ डोजर चल्ने भएपछि बौद्ध धर्मावलम्बीहरूले आपत्ति जनाएका छन् ।
अनधिकृत भन्दै उक्त गुम्बामा डोजर चलाउने काठमाडौं महानगरले सूचना दिएको छ ।
बौद्ध धर्मावलम्बीहरूले आज बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा विश्वभर शान्ति र समृद्धिको सन्देश फैलाउने काम भइरहेको बेला यस कदमलाई बौद्ध धर्ममाथिको ठाडो प्रहारका रूपमा लिएका छन् ।

उनीहरुले प्रधानमन्त्री बालेन्द्र साहको आलोचना गरेका छन् । गुम्बाका सञ्चालक उमेश लामाले प्रधानमन्त्री साहले आफ्नो शपथग्रहण बौद्ध भिक्षुहरूलाई साक्षी राखेर गरेको तर अहिले सोही धर्मको आस्थाको केन्द्रमा डोजर चलाउन खोज्नु सह्य नहुने चेतावनी दिएका छन् ।
उनले यसलाई बौद्ध धर्ममाथिकै आक्रमण भएको बताएका छन् । उनले हिजो बालेनले प्रधानमन्त्री हुँदा १०७ जना भिक्षुहरु साक्षी राखेर शपथ खाएर ढोङ पिटनेहरु आज गुम्बामा डोजर चलाउँदा यसमा विचार पुर्याउनु पर्ने बताएका छन् ।
गुम्बाका सञ्चालक लामाले यो कुनै अतिक्रमण नभई गुम्बाको नाममा रहेको ८ आना जग्गा कब्जा गर्न बौद्ध धर्ममाथि गरिएको आक्रमण भएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस