२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

खिमनारायण पराजुली नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा निर्वाचित, निजी क्षेत्र सशक्त बनाउने प्रतिबद्धता

सोमवार , बैशाख २१, २०८३

नवलपुर । नेपाल उद्योग व्यापार महासङ्घको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित भएका छन् । महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

नवलपुरको गैँडाकोटस्थित नारायणी रिसोर्टमा आइतबार सम्पन्न महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष खिम लाल भण्डारी रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त चयन भएका छन् । त्यसैगरी उद्योग उपाध्यक्षमा दामोदर नेपाल, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी र एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट रहेका छन् ।

खुला उपाध्यक्षहरूमा उपेन्द्र चौधरी, रामसुन्दर बके, प्रकाश पाण्डे र जनकराज पराजुली चयन भएका छन् भने महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएकी छन् ।

महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की र उपमहासचिवमा कुमार थापा चयन भएका छन् । सचिवहरूमा चेत बहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी र केदारनाथ अधिकारी रहेका छन् भने सह–कोषाध्यक्षमा नेत्र प्रसाद आचार्य चयन भएका छन् ।

नयाँ नेतृत्वले उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान, निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यसैविच नव–निर्वाचित अध्यक्ष पराजुलीले प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारीलाई केवल पद नभई विश्वास, अपेक्षा र उत्तरदायित्वको रूपमा लिएको बताएका छन् । उनले प्राप्त विश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै यसको अधिकार, सुरक्षा र सम्मानका लागि सशक्त आवाज उठाउने बताएका छन् । साथै, सरकारसँग सहकार्य गर्दै कर, वित्त, श्रम तथा व्यापारसम्बन्धी नीतिहरूलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन पहल गर्ने उल्लेख गरेका छन् ।

पराजुलीले साना तथा मझौला उद्यम क्षेत्रलाई प्राथमिकतामा राख्दै वित्त, प्रविधि, बजार र तालिममा पहुँच विस्तार गर्न विशेष कार्यक्रम ल्याइने जानकारी दिएका छन् । संघीय संरचनाअनुसार सातै प्रदेश र जिल्ला तहसम्म महासंघको संस्थागत सुदृढीकरण गर्दै सदस्यहरूलाई प्रभावकारी सेवा प्रदान गर्ने उनको योजना रहेको छ ।

महासंघभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै संस्थालाई विश्वसनीय र पेशागत बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

अध्यक्ष पराजुलीले वर्तमान आर्थिक सुस्तता, नीतिगत अस्पष्टता र बजारका चुनौतीहरूबीच पनि एकताबद्ध निजी क्षेत्रले सबै समस्या पार गर्न सक्ने विश्वास व्यक्त गरे । उनले “समृद्ध नेपाल निर्माणमा सशक्त निजी क्षेत्र” भन्ने साझा लक्ष्य हासिल गर्न सबैलाई सहकार्यका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट