काठमाडौं। उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसान फेरि आन्दोलनका लागि काठमाडौं आएका छन्।
सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार किसानलाई पाउनु पर्ने रकम नदिएपछि किसान फेरि ओन्दोलनका लागि काठमाडौं आएका हुन्।
एउटै विषयलाई लिएर पाँचौं पटक काठमार्डौं आएर ओन्दोलन गर्न बाध्य भएका उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ।
अझै ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव हरेश्याम राय यादवले बताए।
‘हामीलाई सरकार र उद्योगी दुवैले झुक्याए। हामी सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहन्छौं। प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहन्छौं,’ यादवले भने।
किसानले सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि जनाएका छन्।
यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दिरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ।
तर किसानको बक्यौता विवाद हेरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने किसानको एक रुपैयाँ पनि बक्यौता बाँकी नरहेको दाबी गर्दै आएको छ।
काठमाडौं आएका किशानले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काल समस्या समाधान गर्नुपर्ने माग पनि गरेका छन्।