काठमाडौं। सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति भएको छ। गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिता बिनै मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको हो।
बिहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो। माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए।
बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले सात र जसपाले सात मन्त्रालय पाउने सहमति भएको छ।
कुन मन्त्रालय कसलाई भन्ने विषयमा सामन्य छलफल भए पनि अझै टुङ्गो लागि सकेको छैन। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिमण्डलमा तीनजना राज्यमन्त्री बनाउने तयारी छ। यसअघि देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिइसकेका छन्।
मन्त्री चयनका लागि अहिले काँग्रेस र जसपाको बैठक बस्दैछ। कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको हो। जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकारमा सहभागी हुन अनुरोध गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन्। प्रचण्डले अन्तिम समयसम्म नेपाललाई सरकारमा सहभागी गराउने कसरतलाई निरन्तरता दिएका हुन्।