काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैको गल्ती देखाउन नभई अर्थतन्त्रको वास्तविक अवस्था देखाउन श्वेतपत्रको विषय उठेको प्रष्ट पारेका छन्। आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यसँगको भेटघाटको क्रममा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री शर्माले आफू अभिनय गर्न मन्त्रालयमा नआएको भन्दै यस्तो बताएका हुन्।
‘यो कुनै फिल्म खेल्ने कुरा होइन, भिलेनलाई पछारेर हिरोले जितेको देखाउनलाई। म त्यस्तो अभियानमा छैन’, शर्माले भने, ‘आफूले देखेको कुरा भन्ने हो। जे छ त्यही प्रष्ट राख्ने हो।’
श्वेतपत्रको सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभई आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र खोजिएको प्रष्ट पारे।
आफूलाई अहिले जनताका अपेक्षाको भारीले त्रसित बनाएको उनको भनाइ छ। आफूलाई काम गर्ने धेरै समय नभए पनि अर्थतन्त्रलाई फरक दिशा दिने सोचका साथ काम गर्ने बताए। ‘मसँग काम गर्ने धेरै समय छैन’, उनले भने, ‘धेरै गर्न सकिने अवस्था पनि छैन। तर विषय विज्ञ र तपाईंहरु सबैको सुझाव र जनताको आवाज दुवै कुरा मिसाएर अर्थतन्त्रलाई केही न केही मात्रामा फरक दिशा दिने सोचेको छु, त्यो म गर्छु।’
मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसावले पहलकदमी अघि बढाइने सोंच रहेको दाबी गरेका छन्।
मन्त्रालयबाट मौद्रिक नीति ल्याउन रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको उनले स्पष्ट पारेका छन्। राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको उनले बताए।
राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनको भनाइ छ।
कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले तथ्य प्रमाणमा आधारित नीति तय गर्न पत्रकारको लेखाइले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन्। अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै उनले पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहेनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।