काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन्।
अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्।
प्रधानमन्त्री रहँदा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए े। अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले बताए।
अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको तामाङको भनाइ छ। कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए।
‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षको व्यवस्था भएको छ’, उनले भने, ‘उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ। हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका काम गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार गरेका छौँ।’
सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए। पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थिति बिना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुवल रुम तयार गरेको जानकारी दिए।