काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद बेल्जियममा करिब एक वर्षदेखि देखिएको असमझदारी, विवाद र संस्थागत विभाजन अन्त्य गर्दै अन्ततः एकताको सहमति जुटेको छ। मे ५, २०२६ मा सम्पन्न बृहद छलफलपछि दुई पक्षबीच औपचारिक सहमति-पत्रमा हस्ताक्षर गरिएको हो।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष डा. हेमराज शर्मा र पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उपाध्यक्षद्वय रामशरण सिम्खडा र लोकप्रसाद दाहाल, महासचिव डा. चिरञ्जीवी खड्का, उपमहासचिव अनुजा प्रधान लगायत बेल्जियमका पूर्व अध्यक्षहरू र विभिन्न सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो।

सहमति अनुसार हाल कार्यरत दुईवटा कमिटीलाई एकीकृत गर्दै आगामी अक्टोबर ११, २०२६ सम्म कमल पन्थीले कार्यकारी अध्यक्षको रूपमा नेतृत्व गर्नेछन् भने अर्का अध्यक्ष लोकेन्द्र नेपालले सहकार्य गर्नेछन्। सो मितिपछि लोकेन्द्र नेपाल स्वतः अध्यक्ष बन्ने र पन्थी निवर्तमान अध्यक्षको भूमिकामा रहने व्यवस्था गरिएको छ।
त्यस्तै, एकीकृत समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको व्यवस्थापनमा लचिलो सहमति गरिएको छ। एकल पदहरूमा एक जनालाई कायम राख्ने र अर्कोलाई आवश्यकताअनुसार समायोजन गर्ने तथा बहुपदमा इच्छुक सदस्यहरूलाई निरन्तरता दिने निर्णय गरिएको छ।

सदस्यता व्यवस्थापनतर्फ MIS प्रणालीबाट बनेका ६१६ र स्थानीय पोर्टलबाट बनेका ९७८ सदस्यलाई एकीकृत गर्दै कुल ९७८ सदस्य कायम गरिनेछ। केन्द्रीय बक्यौता ४,८९० अमेरिकी डलर मे २०२६ भित्र अध्यक्ष कमल पन्थीको जिम्मेवारीमा रहेको कोषबाट भुक्तानी गर्ने सहमति भएको छ।
यसैगरी, बेल्जियमको कानुनअनुसार दर्ता गरिएको NRNA VZW मा कमल पन्थी र सबिन न्यौपानेको नाम थप गरिनेछ। साथै, स्थानीय विधानअनुसार जुलाईभित्र गर्नुपर्ने साधारण सभा छिट्टै सम्पन्न गरी उक्त सहमति-पत्रलाई अनुमोदन गर्ने निर्णय पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस