एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति उनले यस्तो आह्वान गरेका हुन् ।
बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी फैलाएको भन्दै यस्तो आह्वान गरेको बीबसीले जनाएको छ । उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन्।
उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी निर्देशन जारी गर्दै अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्ने वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्ने बताएका छन् । आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा डोज लिएका छन् ।
अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ।