काठमाडौं । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम चयन गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने सम्भावना छ।
प्रधानन्यायाधीशको पद रिक्त भएपछि नयाँ नेतृत्व चयनका लागि संवैधानिक प्रक्रिया अघि बढाइएको हो । न्याय परिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि योग्य न्यायाधीशहरूको विवरण संवैधानिक परिषद्मा पठाइसकेको छ। जसमा वरिष्ठता र कार्यक्षमताका आधारमा विभिन्न न्यायाधीशहरूको नाम समावेश छ। यद्यपि, परिषद्ले कसलाई सिफारिस गर्छ भन्ने अन्तिम निर्णय आजको बैठकले गर्नेछ।
संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि उक्त नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
लामो समयदेखि कायममुकायमको भरमा चल्दै आएको न्यायालयले आजको बैठकपछि पूर्णकालीन नेतृत्व पाउने अपेक्षा गरिएको छ । बैठकमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्यका रूपमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस