काठमाडौं । प्रलोपाका पूर्व अध्यक्ष परिषद् सदस्य तथा पूर्वमाओवादी नेता सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । दुवै पक्षबीच भएको सहमतिअनुसार किराती पक्षले पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य समेत पाउने भएका छन् ।
किराती निकट एक नेताका अनुसार यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता सुदन किरातीबीच भएको उक्त सहमतिलाई आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा औपचारिक रूपमा घोषणा गरिने कार्यक्रम रहेको छ ।
पार्टी एकता घोषणा कार्यक्रम अपराह्न ३ बजेका लागि तय गरिएको छ । भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए । जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल लगायतका नेताहरूले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि किराती त्यसप्रति असन्तुष्ट बनेका थिए ।
त्यसपछि उनी प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० मा आबद्ध भएका थिए । माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा गठन भएको प्रलोपामा किराती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर २१ फागुनको निर्वाचनपछि उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस