काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त रहेको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
मन्त्रालयका अनुसार योग्यता पुगेका उम्मेदवारहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन पेस गरिसक्नुपर्नेछ । तोकिएको म्यादभित्र प्राप्त नभएका वा प्रक्रिया नपुगेका आवेदनहरू उपर कुनै कारबाही नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।
इच्छुक उम्मेदवारहरूले पदका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता, अनुभव, दरखास्त फारामको ढाँचा र आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरूको विस्तृत विवरण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् ।
सुरक्षण मुद्रण केन्द्रमा लामो समयदेखि नेतृत्वको रिक्तता वा निमित्तका भरमा सञ्चालन हुँदै आएको सन्दर्भमा सरकारले स्थायी नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो । यस पदका लागि व्यावसायिक कार्ययोजनासहितको प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस