काठमाडौं । देशका विभिन्न स्थानमा लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने धेरै स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
उदयपुरको कटारी नगरपालिका–१४ दलदले क्षेत्रमा आएको बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, काभ्रेपलाञ्चोक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
यसैबीच, विभिन्न स्थानमा पहिरो र बाढीका बाबजुद सुरक्षा निकायको समन्वयमा केही सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ असार २५ गतेदेखि एकतर्फी सञ्चालनमा रहेको छ भने तनहुँको आँबुखैरेनी–४ डम्पिङस्थित पृथ्वी राजमार्ग पनि एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रका सडक खण्डहरूमा पनि एकतर्फी सवारी आवागमन भइरहेको छ । भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग तथा संखुवासभाको मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्गमा समेत एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
प्रहरीले वर्षा जारी रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन तथा
सम्भावित जोखिमलाई ध्यानमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस