काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको राजीनामा प्रकरणको विवाद युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आपत्कालीन बैठकले प्रशिक्षकले सामाजिक सञ्जालमा घोषणा गरेको राजीनामा र उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङमाथि लाएको आरोपको छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाहले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए। एन्फा बैठकले दुबैको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गरेको हो।
अब्दूल्लहले आइतबार उपाध्यक्ष पंकजका कारण आफूले पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको छ। एन्फाले आफै छानबिन नगरी खेलकुदको सर्वोच्च निकायबाट सत्य तथ्य छानबिन होस् भन्ने हेतुले मन्त्रालयलाई छानबिनको लागि सिफारिस गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ।
यसैगरी बैठकले नेपालमा अक्टोबरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि साफमा १० करोड रुपैयाँ बजेट प्रस्ताव गर्ने निर्णय गरेको छ। साथै साफ आयोजनाका लागि नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबाट एन्फालाई पाँच करोड रुपैयाँ प्रदान गर्ने निर्णयप्रति नेपाल सरकार तथा अर्थमन्त्रालयलाई धन्यवाद ज्ञापन पनि गरेको छ।
बैठकले एएफसी महिला एसियन कपका लागि इरान र अन्य देशसँग मैत्रीपूर्ण अभ्यास खेल लगायत तयारी गर्ने तथा साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष टोलीलाई बंगलादेश, भारत र सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्राचार भएकोले खेल आयोजना र सहभागिता जनाउने निर्णय पनि गरेको छ।
एन्फा बैठकका निर्णय :